
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो । रेशमले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट निवेदनमा उक्त आदेश भएको हो ।
नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो । तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्यो । आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊँ भनी रिट निवेदन दायर गरेका थिए ।