सुशीला कार्की बनिन सरकार प्रमुख

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशले पहिलो महिला नेतृत्व पाएको छ ।
राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ हुँदैछ । योसँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् ।
कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।
प्रधानन्यायाधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् ।
न्यायपालिकामा रहँदा हक्की र इमानदार स्वभावका कारण उनी चर्चामा आएकी हुन् ।
यसपटक सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो ।
प्रधानमन्त्रीको राजीनामालगत्तै प्रधानसेनापति समेतको सहभागितामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।
प्रधानमन्त्रीको सपथ सँगसँगै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद विघटन भएको छ भने विभिन्न राजनीतिक दलहरुले नयाँ सरकारले गरेको संसद विघटनको विरोध गरेका छन् । सरकार गठनको प्रक्रियामा रहेकी कार्कीले संसदमा सहभागी कांग्रेस, एमाले, माओवादी लगायतका अन्य राजनीतिक दलहरुको विरोधका वावजुध पनि नयाँ पुस्ताको माग बमोजिम आफूले कार्य गर्ने विश्वास दिलाउँदै मन्त्रीमण्डल गठनको प्रक्रिया अगाडि बढाएकी छन् ।
कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार