शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा मन्त्रालय मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रलाई उनले गत बुधबार निर्देशन दिएका हुन् ।
मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिए । नास्टका ल्याबहरू उच्चकोटीको भएकोले काम पनि उच्चकोटीकै हुनुपर्ने बताए ।
मन्त्री पुनले शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्ने सम्बन्धी कार्यविधि बनाउने तथा अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरु निर्माणमा समेत जोड दिएका थिए ।
पाठयक्रम विकास केन्द्रमा पनि उनले विशेष छलफल गरी सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्यक्रमको विकास गर्दा गम्भीर भएर काम गर्न, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्यपुस्तकहरूको विकासमा सहयोग गर्न, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यवहारिक शिक्षा, इतिहास र संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिन निर्देशन दिएका छन् ।
सोही सन्दर्भमा आगामी शैक्षिक सत्रदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसार पाठ्यक्रम विकास गर्न समेत निर्देशन दिएको उनले उल्लेख गरेका छन् ।