काम गर्ने कालु मकै खाने भालु बन्यो जेन्जी आन्दोलन

जनक ढकाल

वर्तमान समयमा नेपाली राजनीतिमा चासो राख्ने विशेष गरेर सम्पूर्ण युवा सरोकारवालाहरुले महत्वपूर्ण रुपमा ध्यान दिनुपर्ने कुरा के छ भने चाहे त्यो हिजो जेन्जी आन्दोलन पूर्वको विभिन्न कालखण्डमा गठन भएका सरकार होस्, चाहे त्यो वर्तमानमा जेन्जीको आडमा बनेको अन्तरिम सरकार होस् वा भोली शक्तिमा आउने माओवादी बाहेकका अन्य राजनीतिक शक्तिहरु हुन् अथवा वर्तमान आन्दोलनका असली वा नक्कली जेन्जीहरुको समूहको शक्ति नै किन नहोस् यी कसैले पनि माओवादीलाई छाड्नेवाला छैनन् । त्यसको त्यसको ज्वालन्त उदाहरण अहिले नवगठित सरकारले भ्रष्टाचारीहरुको फायल खोल्ने नाउँमा कृष्ण बहादुर महराको गिरप्‌mतारी गर्नु । किन कि यो अहिलेको पुँजीवादी सत्ताको हतियार र मतियार सबै समूह वा दलहरु यो चाहँदैनन् कि माओवादीले भन्दै आएको एक्काइसौँ शताब्दिको वैज्ञानिक समाजवाद विगतमा चिन र रुसमा जस्तै नेपालमा पनि स्थापित होस् ।

आज तीन करोड नेपालीलाई थाहा कि जेन्जीहरुले उठाएको मूल एजेण्डालाई माओवादीले २०६३ सालको अन्तरिम संविधानको मस्यौदामा नै जनताबाट निर्वार्चित कार्यकारी प्रमुखको व्यवस्था संवैधानिक रुपमा उल्लेख हुनु पर्छ भनेर सडक र सदन दुवै स्थानबाट उठाउँदै आएको थियो । आफूलाई यो वर्तमान राजनीतिको परिवर्तनको संवाहक हामी हौँ भन्ने तपाई जेन्जीहरु एक पटक आजभन्दा १९ वर्ष अगाडि देखि माओवादी र उक्त दलका नेताहरुले विभिन्न कार्यक्रमहरुमा गरेका संवैधानिक व्यवस्थासम्बन्धी उठाएका विषयहरु के थिए ? आज तपाईहरुमा अलिकति पनि नैतिकता र हिम्मत छ भने हिजो लोकतान्त्रिक गणतन्त्रको स्थापनदेखि आजसम्म भए गरेका सरकारी क्रियाकलाप र कार्यान्वयनका पक्षहरुलाई केलाएर हेर्ने प्रयास गर्नुस् । कुन दलको नेतृत्मा बनेको सरकारले जनताको हितमा के कति काम गर्‍यो र कसले जनविरोधी काम गर्‍यो ? एक पटक सोच्नुस् तपाई जेन्जीका साथीहरु आज सरकार बनाउने ठेक्का पाएका तपाईका जेन्जी प्रतिनिधि पात्रहरुले माओवादीको विरुद्धमा के–कस्ता शब्दहरु प्रयोग गर्दै डिँडिरहेका छन् । एउटा आफ्नो छुट्टै नारा तयार गर्न नसकेर आजभन्दा १९ वर्ष अगाडि देखि अरु कसैले परिभाषित र व्याख्या गर्दै आइरहेको मुद्दालाई आज हाम्रो मुल नारा भन्ने अनि फेरी त्यही मुद्दाको व्याख्या र परिभाषा सिकाउनेहरुको विरुद्ध त्यस्ता घृणित भाषा शैली प्रयोग गर्दै तिनीहरुमाथि पहिलो कारवाही हुनुपर्ने जस्ता भाष्य सिर्जना गर्नु अलिकति पनि लाज लाग्दैन ? जसले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संवैधानिक रुपमा सम्बोधन भएपश्चात देश र जनतालाई हुने फाइदाका बारेमा पहिले नै तपाईहरुलाई विभिन्न सम्बोधन मार्फत प्रशिक्षण दिइसक्यो उसैका विरुद्ध यसरी खनिन अलिकति पनि संकोच लागेन ? यसको मतलव मैले कृष्ण वहादुर महराको गिरप्‌mतारी हुनुहुन्थेन भन्न खोजेको होइन । कुन समयमा कस्ता प्रकृतिका मुद्दालाई प्राथमिकतामा राखेर कारवाही गर्नु समय सान्दर्भिक र औचित्यपूर्ण हुन्छ भन्ने कुरा औल्याउन खोजेको मात्र हो । साथै वर्तमान अवस्थामा जेन्जी सरकारले के कसरी मुद्दाहरुलाई गोलमटोल गर्दै तिनै जेन्जीहरुलाई वाइपास गर्दैछ भन्ने बारेमा सजग गराउन मात्र खोजेको हो । यतिवेला कोही कसैबाट भ्रष्टाचारमा मुछिएका वा विवादमा तानिएका पात्रहरु छन् भने एक जना कृष्ण बहादुर महरा मात्र होइन प्रमाणहरु पुष्टि हुन सक्छ भने प्रचण्ड, भट्टराई, रवी, बालेन सबैलाई कारवाही हुनु पर्छ । त्यस्ता कारवाहीको पक्षमा म पनि छु । तर अहिलेको मुख्य मुद्धा जो जेन्जीहरुको रगतमाथि उभिएर वर्तमान सरकार ढाल्ने र बनाउने चुनौती दिइरहनु भएको छ । ठिक त्यही तपाई जेन्जीहरुको आन्दोलनको बिचबाट वर्तमान प्रधानमन्त्री जो तपाईहरुको मागअनुसार तपाईहरुले छानेको पात्र शुशिला कार्की बनेकी छन् उनले के भनेकी थिइन् तपाईहरुको बिचमा ? कि बिर्सनु भयो शुशिला कार्कीले तपाईहरुको साथमा आन्दोलनको बिचमा बोलेको शब्द ? शुशिला कार्कीले तपाईहरुको त्यो आन्दोलनको बिचमा उभिएर भनेकी थिइन् “म पनि तपाईहरुको साथमा यो आन्दोलनको पक्षमा छु, यो नरसंहारमा उत्रिने प्रधानमन्त्री के.पी. ओली र गृहमन्त्री रमेश लेखकलाई गिप्‌mतार गरेर जेल हाल्नु पर्छ र उनीहरुलाई हदै सम्मको कारवाही गर्नु पर्छ ।” जेन्जी पुस्ताका भाइबहिनीहरु तपाईहरुले शुशिला कार्कीको यो अभिव्यक्ति बिर्सिएको भए पनि म सँग त्यो भिडियो अझै पनि सुरक्षित छ । यति वेला यो सरकारले पुराना फाइलहरु खोल्दै जाने क्रममा तपाईका साथीहरुको आलो रगत सुक्दै जानेछ अनि विस्तारै यो मुद्दालाई नै पाखा लगाइने छ । किन कि अब छ महिना पछि हुने निर्वाचन तपाई जेन्जीहरुले भन्दै आएको मुद्दासँग जोडिएर निर्वाचन त हुनेवाला छैन । किन भने यो सरकारले गराउने निर्वाचन भनेको प्रत्यक्ष कार्यकारी निर्वाचन होइन उही संघीय निर्वाचन र उही पुरानै सांसदहरुको पदको लागि मात्र हो । तपाईहरुले त्यो अवसर आफू आफू बिचको तछाड मछाडमा संवैधानिक प्रक्रियालाई नै बिर्सनु भयो केबल तात्कालिन सरकारलाई सत्ताबाट लखेट्न सफल भयौँ भन्ने उन्मादमा तपाईहरुले कति सम्म ख्याल गर्न सक्नु भएन भने आफूहरुको आन्दोलन केबल सरकार ढाल्ने मात्र होइन त्यसको विकल्पमा दीर्घकालीन रुपमा देश र जनतालाई हित हुने खालको निकास पनि दिनु पर्छ, त्यसका लागि आवश्यक कानुनी तथा संवैधानिक अड्चनहरुको बारेमा समेत बुझ्न सक्नु भएन अथवा बुझ्ने चेष्टा गर्नु भएन र हतारमा सरकार गठन र संसद विघनमा मात्र केन्द्रित हुनु भयो । किनभने तपाईहरुलाई निःवर्तमान संसद र त्यसको नेतृत्व प्रतिमात्र तपाईहरुको रोश थियो/घृणा थियो ।

अब यहाँ मैले जेन्जी भाइवहिनीहरुलाई भन्न चाहेको मुख्य कुरा के हो भने तपाई गलत हुनुहुन्न । तपाईहरुले उठाएका एजेण्डाहरु गलत छैन् । जुन एजेण्डा हिजो माओवादीले उठाएको थियो त के भयो ? उसले उठाएको एजेण्डालाई माओवादी आफैले कार्यान्वयनमा ल्याउन त सकेन नि । त्यही एजेण्डा तपाईहरुले उठाउनु भयो र माओवादीको हिजोको ऐण्डा सही आज तपाईहरुले पूरा गरिदिँदै हुनुहुन्छ त्यसको लागि म तपाईहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

यहाँ सवाल के हो भने समय सापेक्षताको आधारमा मुद्दाहरुको सुनुवाई हुनु पर्छ र कारवाही प्रक्रिया अगाडि बढ्नु पर्छ न कि त्यसलाई फड्काएर वर्षौ पुराना केसहरु अहिले खोज्ने । मैले अघि नै भनिसकेँ अन्ततः यो सरकारले तपाईहरुको सहमित्रहरुको रगतको हिलोमा टेकेर तपाईहरुको आँखामा धुलो छर्दै भ्रष्टाचारमा संलग्न रहेका नामहरु अझ विशेष गरी माओवादी नेताहरु कृष्ण बहादुर महरालाई त समाती नै सक्यो । अब विवादमा तानिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व सभामुख अग्नी सापकोटा, पूर्व अथर्अमन्त्री वर्षमान पुन हुँदै अन्य थुप्रै माओवादी नेता कार्यकर्ताहरुलाई मात्र समातिने छन् । यसो गर्दै जाँदा तपाईहरु वर्तमान सरकारले भ्रष्टाचारीहरु माथि कारवाहीको प्रक्रिया सुरु गर्‍यो भनेर मख्ख पर्दै हुनुहुन्छ । अनि विस्तारै चुनाव आउँछ । सरकार बाहिरी मुद्दामा भन्दा चुनावमा केन्द्रित हुन्छ र हुन पनि पर्‍यो किन कि यो सरकार गठन भएकै चुनाव गराउनका लागि हो । अनि यो सरकारको औचित्य सकिन्छ र नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्छ । जब नयाँ सरकार आउँछ अनि उसले तपाईहरुको मुद्दा माथि छानविन गर्छ भन्ने लाग्छ ?

अनि अर्को कुरा थाहा छ ? तपाईहरुले आगामी निर्वाचनमा आफूहरुले नेतृत्व लिने प्रयास त गर्नु होला तर सफल हुन सक्नुहुन्न, तपाईहरुको बिचमा फेरि पनि आउने तिनै पुराना दलहरुको झोलेहरु नै हुन् । किन कि तपाई जेन्जीहरुको समूहमा सम्मिलित अधिकांश पात्रहरु तिनै राजनैतिक दलका भातृसंगठनका क्रियाशिल सदस्यहरु नै छन्, कोही विद्यार्थीको नाउँमा, कोही युवा संगठनको नाउँमा त कोही मजुदर संगठनको नाउँमा । कुनै न कुनै नाउँमा उनीहरु जोडिएकै छन् । त्यसैले आज तपाईहरुको बिचमा एकता छैन । त्यसैले आज जेन्जीहरुको १० ओटा समूहहरु बनेका छन् । कोही बालेनलाई समर्थन गरेका छन् । कोही हर्कलाई समर्थन गरेका छन्, कोही रवीलाई समर्थ गरेका छन् भने कोही, के.पी. लाई कोही प्रचण्डलाई गाली गर्नमा सीमित त कोही राजा ल्याउनु पर्छ भनेर खुल्ला रुपमा अभिव्यक्तिहरु दिइरहेका छन् । यसबाट के स्पष्ट हुन्छ भने तपाई जेन्जीमा आवद्ध सदस्यहरुले जति सुकै घाँटी फुट्ने गरी कराए पनि कोही पनि सदस्य प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुनै न कुनै दल वा उसको भातृ संगठनमा क्रियाशिल हुनुहुन्छ नै ।

त्यसैले भोलि आउने नेतृत्व तिनै हुन्छन् जसका घर तपाईहरुको आन्दोलनको क्रममा जलाईएको थियो, जसलाई नाङ्गै बनाएर कुटी कुटी बेइज्जत गरिएको थियो, जसलाई आगोमा जलाएर शरीरको कुनै अङ्ग नै काटेर प्‌mयाक्न परेको थियो भने कोही आफू राज गरिरहेको सत्ता छाडेर तपाईहरुका कारणले भाग्नु परेको थियो । यद्यपि अब आउने नयाँ अनुहार अहिलेका ती ठूला टाउकेहरु देउवा, ओली र प्रचण्डहरु नआउलान् तर जो आए पनि उनीहरुकै पेरिफेरिमा चिल्लो हात गर्न पल्किएका झोले कार्यकर्ताहरु नै आउने हुन् भलै त्यो अनुहार उमेरका हिसाबले जेन्जी पुस्ताको नेतत्व गर्ला । तपाई जेन्जीहरुले आजैका मितिमा एउटा डायरीमा लेखेर राख्नुस् अब ती झोलेहरुले तपाईका सहिद मित्रहरुको हत्याराई कारवाही गर्ला ? जसलाई तपाईहरु आफैँले टपक्क टिपेर सरकारमा पुर्‍याउनु भयो उसैले त तपाईहरुका मुद्दाको सुनुवाइ गरेको छैन भने भोलि आउने नयाँ अनुहार जसको आँखा अगाडि बेघर हुनु पर्दाको क्षण, नाँगै भाँटा खाएको क्षण र अनि आगोमा जलेर शरिरको अंग नै गुमाउन बाध्य हुन परेको क्षण नसम्झेला ? अनि त्यही नयाँ अनुहारको अगाडि गएर कसरी भन्न सक्नु हुन्छ हाम्रा जेन्जीहरुका हत्यारालाई कारवाही गर भनेर तपाईहरु ?

यस बिचमा जेन्जी भाइवहिनीहरुका थुप्रै विचार र तर्कहरु सामाजिक सञ्जालमार्फत सुन्ने बुभ्‌mने मौका मिल्यो । ती सबैको विचार र तर्कहरु सुन्दा कोही कानुनको विद्यार्थी भेटियो, कोही व्यवसायी भेटियो, कोही डाक्टर हुँ भन्ने पनि भेटियो । तर सबैले गणतन्त्र नेपालको संविधानलाई पूर्ण अध्ययन गरेको भने भेटिएन । तपाईहरु संविधान परिवर्तनको कुरा गर्दै हुनुहुन्थ्यो । तर संविधान परिवर्तन गर्नका निम्ति आवश्यक न्यूनतम शर्तहरु के के हुनसक्छन् भन्ने कुराको ख्याल राख्नु पर्दैन ? यदि तपाईहरुलाई त्यसको पनि हेका थिएन भने आफैँ कानुनको व्याख्याता पूर्व प्रधानन्यायधिश रहेकी शुशिला कार्कीसँग सरकार गठन गर्नुभन्दा अगाडि कुन कुन अवस्थामा कसरी संविधानका धाराहरु थप्न सकिन्छ ? घटाउन सकिन्छ अथवा संशोधन गर्न सकिन्छ ? त्यो प्रक्रियाका निम्ति निर्वाचन आयोगमा दर्ता भएर नि.वर्तमान संसदमा प्रतिनिधित्व गर्ने दलहरुको भूमिका आवश्यक छ कि छैन ? यदि छ भने कुन सुरक्षित प्रक्रियाबाट उनीहरुलाई सहभागी गराएर संविधानका बुँदाहरु थपघट अथवा परिवर्तन गर्न सकिन्छ ? अथवा ती दलहरुको आवश्यकता पर्दैन भने त्यसका संवैधानिक आधारहरु के के हुन सक्छन् भन्ने विषयमा कम्तिमा एक चरण छलफल हुनु पर्दैन ? केबल फेसबुक पेजहरुमा मिठा कुरा सुनाएर जेन्जीको यो भाइ वा यो वहिनीले बोलेको त ठिक हो है भन्ने आभाष आम जनामानसमा पुर्‍याउन सफल भए पनि नानीबाबु हो ? हरेक कार्यकलापहरुका आफ्नै प्रक्रिया र पद्दतिहरु हुन्छन् । फेसबुक पेजमा लेख्दैमा र पत्रकारहरुको अगाडि गुटुङटुङ बोल्दैमा त्यो सही हुनै पर्छ भन्ने छैन ।

तपाईहरुले आन्दोलन सही समयमा सही ऐजेण्डा लिएर गर्नु भएको थियो र सही नतिजा पनि हात पार्नुभयो त्यसको लागि म तपाईहरुलाई विशेष धन्यवाद पनि दिन चाहन्छु । तथापि आन्दोलनका नाममा देशले जुन आर्थिक, भौतिक र ऐतिहासिक क्षति व्यहोर्नु पर्‍यो त्यो नेपालको इतिहासमा कहिल्यै पनि मेटिने भने छैन । तर पनि यो मुनाफा र क्षतिका सन्दर्भमा पछि वहस गरौँला । मूल कुरा तपाई जेन्जीहरुको आन्दोलनबाट जुन उपलब्धी हात पर्‍यो त्यो उपलब्धिलाई तपाईहरुले सही र निर्णायक ढंगले सदुपयोग गर्न जान्नु भएन । यो यथार्थलाई तपाईहरुले जबरजस्त स्वीकार्नु पर्छ । सबैभन्दा पहिला त सरकार गठनको प्रक्रिया नै गलत भयो । राष्ट्रपतिले संविधाको पालकको हैसियतले राज्यमा सरकार विहिनता राख्न नहुने भन्ने मान्यताको मात्रै परिभाषा खोज्ने हो भने त यो सरकार गठनलाई सहज लिन सकिएला तर समग्र संवैधानिक मूल्य मान्यता र कानुनी प्रक्रियालाई खोतल्ने हो भने त्यो गलत थियो ती सबै कुरा यहाँ लेखेर सम्भव हुँदैन । जसलाई यसको बारेमा चासो लाग्छ तपाईहरुले एक पटक नेपालको संविधान पूर्ण रुपमा अध्ययन गर्नुहोला । सबैलाई प्रष्ट हुनेछ । ल ठिक छ राष्ट्रपतिले प्रधानमन्त्री त बनाउनु भयो । नवनियुक्त प्रधानमन्त्रीले तत्कालै संसद विघटन समेत गरिदिनु भयो । तर संविधान संशोधन गर्नका लागि संसदमा सहभागी दलहरुको उपस्थिति हुनुपर्ने विषयमा पनि उहाँलाई राम्रो सँग थाहा थियो । ती कुराहरु उहाँलाई थाहा हुँदा हुँदै पनि जेन्जीको प्यारो बन्नका लागि र नेपालको प्रथम महिला प्रधानमन्त्री बन्न पाएको मदहोसमा उहाँले संविधान र कानुनी प्रक्रियाको परिभाषालाई चटक्कै बिर्से जस्तो गर्नुभयो अथवा जेन्जीहरुको आँखामा धुलो छर्किदिएर घुमाइफिराई फेरी पुरानै राजनीतिक शक्तिहरुको हातमा अर्को निर्वाचनमा सत्ता सुम्पने योजनामा वहाँ हुनुहुन्थ्यो ?

मैले जेन्जी भाइवहिनीहरुलाई किन यो सवाल उठाइरहेको छु भने तपाईहरुले चाहेको जस्तो जनताबाट निर्वाचित प्रत्यक्ष कारीकारी प्रमुखको निर्वाचन यो सरकारले गराउन सक्ने संवैधानिक प्रावधान नै छैन । यो सरकारको अधिकार भनेको यही संविधानमा टेकेर संघीय चुनाव गराउने मात्र हो । निर्वाचित सांसदहरुको सहमति र सहभागितामा संविधानमा नयाँ व्यवस्था थप गरी पुन कार्यकारी प्रमुखको चुनाव गराउनु पर्ने हुन्छ । के संघीय सांसदको निर्वाचन गराउनकै निम्ति त्यत्रो वलिदानीपूर्ण जेन्जी आन्दोलन र अन्तरिम सरकारको गठन भएको थियो त ? यहाँ त काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै भइरहेको छ । यदि हिजो सरकार गठन गर्दैमा संवैधानिक प्रावधानलाई मध्यनजर गरी दलका नेतृत्वहरुको सुरक्षाको प्रत्यभूति गराएर उनीहरुको उपस्थितिमा संविधान संशोधन गराएर अनि मात्र संसदको विघटन गरिएको हुन्थ्यो भने यही सरकारले सिधै प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गराएर दोस्रो चरणमा संघीय संसदको चुनाव गराउन सक्थ्यो । अझ भन्ने नै हो भने तपाई जेन्जी भाइवहिनीहरुको आन्दोलनका कारण नेपाली राजनीतिमा जुन नयाँ तरँग आयो । त्यतिवेला तपाईहरुले जे चाहनु हुन्थ्यो त्यही हुन्थ्यो । तपाईहरुको अगाडि कुनै नेताहरुले तपाईहरुको मागको विरुद्धमा बोल्ने आँट गर्ने स्थिति नै थिएन । त्यस्तो महान अवसर तपाईहरुले गुमाउनु भयो । यति सम्म कि त्यतिवेला तपाईहरुले चाहेको भए संसद विघटन सँगै संविधानको खारेज नै पनि गर्न सक्नुहुन्थ्यो । किन कि संसदको विघटन र संविधानको खारेजी भन्ने कुरा विशेष परिस्थितिमा विशेष निर्णयका लागि गरिने आन्दोलनकारीको सक्रियतामा हुने नयाँ राजनीतिक धु्रवीकरणको प्रथम चरणको नियमित प्रक्रिया पनि हो । यदि तपाईहरुले वुद्धिमत्तपूर्ण तरिकाले संविधानको खारेज गरी नयाँ र समृद्ध नेपाल निर्माणको लागि पुरानो संविधानमा उल्लेख भएका देश र जनताका पक्षमा रहेका धारा, उपधारा तथा दफाहरु जस्ताको त्यस्तै कायम राख्ने र यदि कुनै दफा देश र जनताको हितमा छैनन् भने ती दफाहरुलाई खारेज गरी धरा, उपधारा तथा दफाहरु संवैधानिक निकायहरुको प्रतिनिधिका बिचमा थप गर्ने भनेर जसरी जेन्जीले प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति, प्रधानसेनापति र जेन्जी सदस्यहरुको बिचमा सहमति भएको थियो त्यसरी नै संविधान खारेजी र पुनर्लेखन गर्ने भन्ने प्रस्ताव पारित गरी नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइएको हुन्थ्यो भने जे जस्ता मुद्दाहरु तपाई जेन्जीहरुले उठाउँदै आउनु भएको थियो सायद त्यही अनुसार नै प्रक्रियाहरु अगाडि बड्दै जान्थे । त्यसरी घोषिक रुपमै धेरै कुराहरु पुरानै संविधानमा उल्लेख भएका विषयवस्तुहरु समेटिने र केही विषयवस्तुमा सुधार गर्ने प्रतिवद्धा व्यक्त गरी संविधान खारेज गरेको भए आज दलहरुले समेत केही कुरा बोल्न सक्ने अवस्थाको सिर्जना हुने थिएन । तर माफ गर्नुहोला यस मानेमा तपाई जेन्जीहरु पूर्ण रुपमा असफल हुनुभयो । त्यति मात्रै होइन तपाईहरुको यो वर्तमान सरकारले तपाईहरुको आफ्नै मुख्य मुद्दालाई विस्तारै पाखा लगाउँदै लगेर अन्ततः आफ्ना सहिद भएका साथीहरुको हत्याराहरु माथि समेत कारवाही हुन्छ भन्ने सम्भावना देखिँदैन, बरु ख्याल राख्नुहोला विभिन्न झुण्डमा झुण्डिएका तपाई जेन्जीहरु जो सरकार विशेष गरी प्रधानमन्त्री र गृहमन्त्रीको प्रत्यक्ष सम्पर्कमा छन् उनीहरुले नै अन्य झुण्डका जेन्जीहरुलाई झुठा मुद्दा लगाएर गिरप्‌mतार गराउने सम्मको स्थितिमा नपुग्ला भन्न सकिँदैन । तर विरडम्बनाका साथ भन्नु पर्छ तपाई जेन्जीहरु यसरी चुक्नु भयो कि अब तपाईहरुले निर्वाचन अगाडि राजनीतिक दलहरुको उपस्थितिविना न त संविधान संशोधन गर्न सक्नु हुन्छ न त कार्यकारी प्रमुखको निर्वाचन नै । तपाईहरुको यो वर्तमान काम गर्ने तौरतरिकाहरुले आम जनतामा के कुरा स्पष्ट भइसक्यो भने तपाईहरुमा राजनीतिक चेतना नै छैन । तात्कालिन समयमा सामाजिक सञ्जाल बन्द गराएको आवेगमा केही राजनैतिक मुद्दा जोडेर आन्दोलनमा उत्रनु भयो र आन्दोलनबाट एउटा उचाइ प्राप्त भयो । अझ पनि तपाई जेन्जीहरुमा सबैभन्दा ठूलो भ्रम के छ भने नेपालको यो राजनीतिक परिवर्तन जुन भदौ २३ गतेको जेन्जीहरुको आन्दोलनले गर्दा भन्नु भएको छ त्यो तर्क पूर्ण रुपमा गलत हो । वास्तविकता के हो भने २३ गते राज्यबाट जुन आततायी नरसंहार भयो त्यसको विरोधमा २४ गते भएको विश्वंशकारी आगजनी र तोडफोड जसले नेपालको इतिहास मेटाइदियो, जनताको सुरक्षार्थ अहोरात्र खट्ने सुरक्षाकर्मी आत्मबल घटाइदियो । त्यो २४ गतेको आन्दोलन जेन्जीको आन्दोलन थिएन, जुन कुरा तपाईहरु आफैँले बताइसक्नु भएको छ । त्यो राजनीतिक प्रतिशोधको नाममा भएको अराजक आन्दोलन थियो । जुन दिनको अनियन्त्रित भिडबाट भएको आगजनी, कुटपिट, लुटपाट र कैदीबन्दीहरुलाई जेलमुक्त गराउने सम्मको हर्कत बढ्दै जानथालेपछि राष्ट्रिय संवेदनशिलतालाई ध्यान दिएर ठ्याक्कै भन्न नमिल्ला, आफू असुरक्षित महसुस गरी नेतृत्वले बाध्य भएर सत्ता छाड्यो । यदि २४ गते आगजनी र तोडफोडसम्मको स्थिति हुन्थेन भने २३ गतेको आन्दोलनकै कारण निःवर्तमान ओली सरकारले यति सजिलै जेन्जीलाई सत्ता सुम्पने थिएन । त्यो भ्रमबाट मुक्त हुनुस् २४ गतेको घटना घुसपैठबाट नै भएको किन नहोस् यो परिवर्तनको नाम जेन्जीसँग जोडिएको भए पनि सत्ता परिवर्तन जेन्जीको डरका कारणबाट भएको थिएन, देश जलाइएको कारणले थियो, जुन जेन्जीले जलाएको नै थिएन ।

जे जस्ता कारणहरुबाट सत्ता हस्तान्तरणको अवस्थामा पुगेको भए पनि मूलतः यसको श्रेय जेन्जीलाई जान्छ, यसमा कुनै दोस्रो प्रश्न नै छैन । भन्नै पर्दा तपाई जेन्जीहरुले वर्तमान समस्या त देख्नु भयो तर समाधानका लागि योजना तर्जुमा गर्नै सक्नुभएन । यो गलत सन्देश विस्तारै देशै भरी पुगिसकेको छ । त्यसैले राजनीति कुनै समूह वा दलमा सहभागिता मात्रै होइन, दुरगामी निर्णय लिन सक्ने क्षमता पनि हो । जुन क्षमता तपाई जेन्जी भाइवहिनीहरुमा देखिएन । तपाईहरुले फाइदाका जसहरु आफूले मात्र लिन खोज्नु भयो तर घाटाका अपजसहरु सबै अर्काको टाउकोमा थोपर्ने प्रयास गरिरहनु भयो यो गलत हो । जसल लिन चाहनले अपजसको भारी बोक्न पनि तयार हुनुपर्छ भन्ने चेतना हुन अत्यन्त जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार