प्रगतिशील लोकतान्त्रिक पार्टी अबको वैकल्पिक राजनीतिक शक्ति बन्ने प्रलोपाको दावी

बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की सुदन किराती, सन्तोष परियार लगायतका नेताहरूको सक्रियतामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा गरिएको छ । उक्त घोषणासभा भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा गत आइबार सम्पन्न भएको हो ।

तीन पक्ष एकीकृत गरी घोषणा गरिएको दलमा माओवादी केन्द्रका नेताहरू र नेसपाका पूर्वअध्यक्ष भट्टराई कार्यकारी भूमिका रहने छैनन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्कीले कार्यकारी भूमिका नहुने र हस्तक्षेप पनि नगर्ने जानकारी दिए ।

नवगठित पार्टीमा जेनजी पनि सहभागी गराएर पाँच सदस्यीय अन्तरिम ‘अध्यक्ष परिषद्’ बनाइएको छ । परिषद्मा प्रगतिशील राष्ट्रिय अभियानबाट सुदन किराती, नेसपा (नयाँ शक्ति) बाट दुर्गा सोब, पूर्वरास्वपा नेता सन्तोष परियार, जेनजी अगुवा ओजस्वी भट्टराई र अशोक जैसवाल छन् ।

अन्तरिम अध्यक्ष परिषदमा रहने दुर्गा सोब विगतमा नेसपा (नयाँ शक्ति) को नेतृत्वमा थिइन् । अर्का अध्यक्ष जेनजी अगुवा ओजस्वी कानुन व्यवसायीसमेत हुन् । उनले संवैधानिक कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा अध्ययन, अनुसन्धान र अध्यापन गर्दै आएकी छन् ।

केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाइएको छ । केन्द्रीय समितिले वृहत् राजनीतिक पुनर्संरचना सम्मेलन गर्ने प्रलोपाले जानकारी गराएको छ । अध्यक्ष परिषद्ले विभिन्न पक्षसँग छलफल गरेर केन्द्रीय समितिका सदस्यहरू टुंगो लगाउने नेता शर्माले जानकारी दिए ।

नवगठित प्रलोपाको विधानअनुसार एक व्यक्ति एक पद हुने र एउटै पदमा दुई कार्यकालभन्दा बढी पदावधि नहुने व्यवस्था गरिएको छ । सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरेको प्रलोपाले राइट टू रिजेक्ट र रिकलको व्यवस्था पनि गरेको छ ।

हरेक पार्टी संरचनाको नेतृत्व निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । संगठन क्याडर र मासबेस्ड नभई स्वयंसेवी हुने प्रलोपाले दाबी गरेको छ । विचार मिल्ने शक्तिहरूसँग भविष्यमा वृहत् ध्रुवीकरण गर्ने नीति बनाइएको छ ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेको प्रलोपाको चुनाव चिह्न आँखा राखिएको छ । संविधान संशोधन, शासकीय स्वरूप, निर्वाचन प्रणाली, लोकतन्त्रको समृद्धीकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दालाई सम्मेलन गरेर छलफल गरिने प्रलोपाले जनाएको छ । नयाँ दल गठनको औचित्यतामा प्रलोपाले ‘राजनीतिमा पुनःसंरचना’ लाई कारण बनाएको छ ।

रास्वपा परित्याग गरेर नयाँ दल गठन गरी अध्यक्ष परिषदमा रहेका सन्तोष परियारले पूर्वआवद्ध पार्टीप्रति कुनै टिप्पणी गरेनन् । परियारले आफूहरू हिँड्न लागेको बाटो भने सहज नभएको स्वीकारे । अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने प्रतिवद्धता उनले गरे ।

‘अग्रज पुस्ता र जेनजीलाई सँगै लिएर हाम्रो पुस्ताले एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको छ । यही संघर्ष गर्ने क्रममा आज हामी वृहत् एकता घोषणासभा गर्दैछौं,’ परियारले भने, ‘समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन । बेइमान पुस्ता भन्न छोड्ने छैन । यसर्थ, एउटा संघर्ष गरौं । यो सजिलो बाटो त होइन ।’

प्रगतिशील लोकतान्त्रिक पार्टीको ५ सदस्यीय अध्यक्ष परिषदमा जेनजीलाई समेत ल्याइएको छ । जेनजी अगुवा ओजस्वी भट्टराईलाई मूल नेतृत्वको परिषद्मा समेटिएको छ । उनी जेनजी मुभमेन्ट अलायन्समा आबद्ध थिइन् । जेनजी आन्दोलनका मुद्दाहरूलाई संस्थागत गर्ने कार्यमा उनी सक्रिय छिन् ।

आइतबार दल घोषणा गर्ने क्रममा वक्ता रहेकी ओजस्वीले जेनजीका एजेन्डा संस्थागत गर्न दलमा आवद्ध भएको बताइन् । राष्ट्र निर्माणमा भूमिका खेल्नको लागि दलमार्फत् अघि बढ्न चाहेको उनले बताइन् ।

जेनजी आन्दोलनले उठाएका मागहरू नयाँ दलले पनि उठाउने उनले अपेक्षा राख्दै अर्का जेनजी अगुवा रिजनले जेनजीको रापतापमा दल गठन गर्ने तर भविष्यमा आफ्नो दायित्व बिर्सन सक्नेप्रति सतर्क रहन रमेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार