
आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै उनले भने, ‘.. म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’
मंगलबार प्रतिनिधिसभाको बैठकमा जानुपर्ने कारण देखाउँदै कार्यक्रमको सुरुमै उनलाई वक्ताका रुपमा उभ्याइएको थियो । करिब १ घन्टाभन्दा बढी प्रशिक्षणात्मक भाषण दिएका उनले आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिए ।
एमाले विभाजनपछि नेपाल र ओली मंसिर अन्तिम साता काठमाडौंमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका गिए ।
एकले अर्कासँग नबोलेको भएपनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए । ‘हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग ! कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्यो । रमाइलो भयो,’ उनले भने ।
नेता नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको कार्यकर्तालाई सुनाए । ‘हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले… त्यो हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ । सत्रुका रुपमा छ,’ उनले भने । उनले नेकपा एमाले अहिले चरम व्यक्तिवादमा फसेको र त्योभन्दा फरक आफूहरु हुनुपर्ने कार्यकर्तालाई सुझाए ।
अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको आरोप समेत लगाएका छन । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने, ‘संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्या छ ? संविधानका सम्मान गर् रे, सम्मान गर् या’छन् ?’